हिमाली प्रदेश

समुद्री सतहको करिब ३००० मिटरदेखि ८८४८ मिटरको उचाई तथा तिब्बतको दक्षिण सिमानासम्म फैलिएको भूभागलाई हिमाली प्रदेश भनिन्छ ।
उत्तरदक्षिण २५ कि.मि. देखि ५० कि.मि.सम्मको चौडाईमा फैलिएको यो प्रदेशले नेपालको कूल क्षेत्रफलको १५ % भूभाग ओगटेको छ ।
नेपालको राष्ट्रिय जनगणना, २०६८ को प्रतिवेदनका अनुसार नेपालको कूल जनसंख्याको ६.७३% जनता हिमाली क्षेत्रमा बसोबास गर्दछन् ।
नेपालको १६ जिल्लाको अधिकांश भूभाग यही प्रदेशमा पर्दछ भने विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत प्रमुख हिमशिखरहरू यसै क्षेत्रमा पर्दछन् ।

पत्रे चट्टानद्वारा निर्मित यो प्रदेश पूर्वमा खुम्चिएको र पश्चिममा फैलिएको छ ।
भूबनौटको हिसाबले यो हिमाली प्रदेशलाई पनि मुख्य हिमालय, भित्री हिमालय र सीमान्त हिमालय गरी तीन श्रेणीमा विभाजन गरिएको छ ।
यस क्षेत्रमा खासगरी शेर्पा, थकाली, भोटे, मनाबी आदि जातिका मानिसहरू बसोबास गर्दछन् भने मुख्य पेशाका रूपमा पशुपालन र पशुजन्य उत्पादनलाई लिन सकिन्छ ।

मुख्य हिमाल
५००० मिटरभन्दा अग्ला सबै हिमाली श्रृब्खलाहरू पर्ने क्षेत्रलाई मुख्य हिमाली क्षेत्र भनिन्छ । यस क्षेत्रमा विश्वका ८००० मिटर भन्दा अग्ला १४ सर्वोच्च शिखरहरू मध्ये ८ वटा हिमशिखरहरू नेपालमा पर्दछन् ।

भित्री हिमाल
मुख्य हिमालको उत्तर र तिब्बतीय सीमान्त प्रदेशको दक्षिणमा चारैतिर उच्च हिमश्रृब्खलाले घेरिएको हिमाली उपत्यकाहरूलाई भित्री हिमाल वा नेपालको भोट प्रदेश पनि भनिन्छ । यस अन्र्तगत २४०० मिटरदेखि ५००० मिटरसम्मको उचाईमा रहेका हिमश्रृब्खलाहरू पर्दछन् ।

सीमान्त हिमाल
मुख्य हिमालको उत्तर, तिब्बती सीमाक्षेत्रको दक्षिण ३० कि.मि. देखि ४५ कि.मि. चौडाईमा नेपालको पश्चिमी भागमा अति उच्च हिमशिखरहरूभन्दा केही होचा मझ्यौला उचाईका हिमशिखर पाइने क्षेत्रलाई सीमान्त हिमाल भनिन्छ ।

हिमाली प्रदेशका विशेषताहरू
•  देशको कूल क्षेत्रफलको १५ प्रतिशत भूभाग ओगटेको ।
•  बहुमूल्य जडिबुटीहरू तथा दुर्लभ वन्यजन्तुहरू पाइने
•  ठूलाठूला नदी तथा हिमनदीहरूको उद्गमस्थल ।
•  विश्वको सर्वोच्च शिखर सगरमाथा तथा विश्वको सर्वाधिक उचाईमा रहेको तिलिचो ताल यही क्षेत्रमा अवस्थित रहेको,
•  अधिकांश समय हिउँले ढाक्ने हुँदा चिसो र शून्य हावापानी तथा उब्जाउयुक्त भूमि कम,
•  बौद्ध धर्मावलम्बीको बाहुल्यता,
•  पशुपालन मुख्य व्यवसाय,
•  पर्यटकीय दृष्टिले महत्वपूर्ण हिमचुचुरा एवं पदमार्गहरू आदि ।